काठमाडौं/४ माघ– नेपाल आयल निगमले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको बताएको छ ।
निगमले एक विज्ञप्ति जारी गर्दै आफ्नो सञ्चित मुनाफा शून्यको अवस्थामा पुगेकाले तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको जनाएको छ ।
“सञ्चित मुनाफा शून्यमा पुगेका कारण आगामी साता भारतीय आयल निगमलाई इन्धन खरिदका लागि तिर्नु पर्ने दुई अर्ब रकम समेत अपुग भएको छ”, विज्ञप्तिमा भनिएको छ, “आइओसीको दुई अर्ब तिर्न ऋण लिनुपर्ने वा मूल्य स्थिरीकरण कोषको रकम चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।”
चालु आर्थिक वर्षको ६ महिनामा भारतीय आयल निगमबाट १२ पटक नयाँ मूल्य प्राप्त भएकोमा हरेक पटक बढेर मूल्य आएको तर निगमले जम्मा तीन पटक मूल्य समायोजन गरेको जनाएको छ ।
पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड घाटामा गएको विज्ञप्तिमा उल्लेख छ । हाल आफूलाई पेट्रोलमा १३ रुपैयाँ १८ पैसा, डिजेलमा ८ रुपैयाँ ८१ पैसा र खाना पकाउने ग्यास एक सिलिण्डरमा ६४६ रुपैयाँ १६ पैसा घाटा रहेको निगमकाे भनाइ छ ।
भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यपछि अबको एक महिनामा निगमको घाटा २१ अर्ब ५० करोड पुग्ने भनिएकाे छ ।