in ,

अभिनेता शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा दर्ता

काठमाडौं/८ चैत– अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।

१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गरिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो ।
कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।

किशोरीले आफूमाथि पटक पटक बलात्कार भएको भन्दै शाहविरुद्ध फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । उजुरीपछि फरार रहेका शाहले फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।

त्यसपछि, किशोरीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । नवलपरासी पूर्वमा शाहविरुद्ध यसअघि नै मुद्दा दायर भइसकेको छ ।

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

संयुक्त लगानीमा मीनभवनमा सेवा सदन भवन निर्माण सम्पन्न