in , , ,

कुल बजेटकाे आधा रकम पनि खर्च गर्न सकेन महानगरले, विकासमा भन्दा कार्यालयमा खर्च बढी

सृजना ढुंगाेल

काठमाडौं/५ जेठ– काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा विकास निर्माणमा खर्च गर्ने भन्दा पनि पैसा बाँड्ने काम गरेको छ ।

महानगरले चालू आर्थिक वर्ष २०७८/२०७९ का लागि १६ अर्ब २५ करोड ६६ लाख ७८ हजार बजेट विनियोजन गरेको थियो । आर्थिक बर्ष सकिन दुई महिना मात्रै बाँकी हुँदा महानगरले ३४ दशमलब ३५ प्रतिशत मात्र खर्च गरेको छ । कुल बजेटकाे आधा रकम पनि खर्च गर्न सकेकाे छैन ।

महानगरकाे विवरणकाे आधारमा

महानगरले चालू आर्थिक वर्षको १० महिनामा प्राशसनिक र कार्यालय सञ्चालनतर्फ बढी खर्च गरेको छ भने विकास निर्माणतर्फको खर्च न्यून छ । महानगरले चालू खर्चतर्फ छुटाएको ६ अर्ब २६ करोड ६३ लाख ४८ हजार बजेटमध्ये तीन अर्ब ३२ करोड ८४ लाख दुई हजार खर्च गरेको छ । तर, पूँजीगततर्फ नौ अर्ब ६३ करोड २३ लाख ८४ हजार बजेट छुटाएको महानगरले दुई अर्ब १३ करोड ७० लाख मात्र खर्च गरेको देखिन्छ ।

महानगरले १० महिनामा एक अर्ब ४७ करोड ६ लाख ७१ हजार पारिश्रमिक बाँडेको छ । महानगरले पारिश्रमिकका लागि एक अर्ब ८४ करोड ७६ लाख ८३ हजार बजेट छुट्याएको थियो । यस्तै, एक करोड ७६ लाख चार हजार त १० महिनामा पोशाकमा मात्रै खर्च गरेको छ । महानगरले महँगी भत्तामा ६८ प्रतिशत, कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा ६४ प्रतिशत, कार्यालय प्रयोजन इन्धनमा ९५ प्रतिशत खर्च गरेको छ ।

यता, पूँजीगत खर्चतर्फ विकास निर्माणका काममा भने खर्च गर्न सकेको देखिदैनन् । महानगरले सडक तथा पुल निर्माण शीर्षकमा १० महिनामा ७२ करोड ५२ लाख ५८ हजार खर्च गरेको छ । यो शीर्षकमा महानगरले दुई खर्ब ५७ करोड १५ लाख ९० हजार छुट्याएको थियो । छुट्याएको रकममध्ये १० महिनामा २८ दशमलब २० प्रतिशत मात्र खर्च भएको छ ।

यस्तै, अन्य सार्वजनिक निर्माणका लागि महानगरले तीन अर्ब २९ करोड ३६ लाख २६ हजार बजेट छुट्याएको थियो । जसमध्ये महिनामा ३८ करोेड २३ लाख ५१ हजार खर्च भएको छ । यो २० दशमलब ७२ प्रतिशत हो ।

यसैगरी, खानेपानी निर्माणमा २४, विद्युत संरचना निर्माणमा ६९, निर्मित भवनको संरचना सुधारका लागि ६३, पूँजीगत सुधार खर्च सार्वजनिक निर्माणमा ५७, सरसफाई संरचना निर्माणमा ४२, सुरक्षा प्रणाली तथा उपकरणमा ३७ प्रतिशत खर्च भएको महानगरको विवरणले देखाउँछ ।

यी शीर्षकमा खर्चै भएनन्

महानगरले बजेट छुट्याएका केही शिर्षकमा भने आर्थिक वर्षको अन्त्य हुन २ महिना बाँकी रहँदा समेत खर्च गर्न सकेको छैन । महानगरले चालू आर्थिक वर्षको १० महिनामा पदाधिकारीको पारिश्रमिक, वैदेशिक ऋणको ब्याज, गैर वित्तिय व्यवसायहरुलाई सहायता, शैक्षिक संस्थाहरुलाई सहायता, जग्गा विकास कार्य, अनुसन्धान तथा विकास खर्चलगायतका शिर्षकमा खर्च भएको छैन ।

महानगरले पदाधिकारी पारिश्रमिकमा ५० लाख, वैदेशिक ऋणको ब्याजमा, ५० लाख, गैरवित्तिय व्यवसायहरुलाई सहायतामा ८६ लाख, शैक्षिक संस्थाहरुको सहायतका लागि एक करोड ७६ लाख ८७ हजार, औषधी खरिदमा एक करोड ४५ हजार, जग्गा विकास कार्यमा १९ लाख बजेट छुट्याएको थियो ।

यसैगरी, महानगरले अनुसन्धान तथा विकासका लागि २० लाख छुटाएपनि त्यो रकम खर्च गर्न सकेको छैन । यस्तै, रेल मार्ग तथा हवाई मैदान निर्माणका लागि महानगरले तीन करोड बजेट विनियोजन गरेको भएपनि खर्च भएको छैन ।

थपिए १२ संक्रमित, नाै निकाे

पाँच सय ७० स्थानीय तहकाे मत गणना सकिँदा २९ हजार ३०३ निर्वाचित