in , ,

कमलपोखरी पुनःनिर्माणकाे काम अन्तिम चरणमा, १५ दिनभित्र उद्घाटन गर्ने तयारी

काठमाडाैं/ २६ माघ- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनःनिर्माणकाे काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने बताएका छन् ।

पुनःनिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् । “काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको छ,” प्रमुख शाक्यले भने, “ठेकेदारले १५ दिन भित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यो लगत्तै हामी पोखरीको उद्घाटन गर्छौँ ।” पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ्य हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा यो पोखरीलाई विकास हुने उनले बताए ।

पोखरी पुनःनिर्माणको काम एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने भएपनि कोभिडका कारण केही ढिलासुस्ती भएको उनकाे भनाइ छ । “ठेकेदारको पनि कोभिडको कारण देखाएर ढिला–सुस्ती गर्दा काम समयमा सम्पन्न गर्न केही कठिनाई भयो”, उनले भने, “निर्माण कार्यको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप पोखरीको किनारमा ९ वटा चैत्यको प्राणप्रतिस्थापन गर्ने कार्य आज सम्पन्न भयो । पहिलो चरणको काम ठेकेदारले १५ दिन भित्र सम्पन्न गर्छौ भनेका छन् । हामी पहिलो चरणको काम सम्पन्न हुने वित्तिकै कमलपोखरीको उद्घाटन गर्ने छौँ र दास्रो चरणको काम सँगसँगै सुरुवात गछौ ।”

शाक्यले चैत्यसँगै यहाँको सांस्कृतिक सम्पदाको संरक्षण र मौलिकता कायम गर्दै कमलपोखरी वरीपरी वृक्षारोपण गर्ने तयारी भएको जानकारी दिए । “यहाँका मठ–मन्दिरको संरक्षण गर्दै यो पोखरीमा ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउँने पर्यटकलाई समेत आर्कषित गराउने उदेश्यका साथ पोखरी पुनःनिर्माणको काम अघि बढाएका छौँ”, उनले भने, “छिटै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्छौँ ।”

एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुनःनिर्माण अघि बढाएको उनको भनाई छ । “पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका हौं’, शाक्यले भने, “वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुर्ननिर्माण गर्दै पुर्नजिवन दिने काम गरेका छौँ ।”

उनले कमलपोखरीको पुनःनिर्माणको काम संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्श गरी काम अघि बढाएको स्मरण गराए । शाक्यले काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहि अनुरुप काम अघि बढेको पनि बताए ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफुलाई आनन्द महशुस भएको भन्दै जति सक्दो छिटो पोखरी उद्घाटनको तयारीमा रहेको जानकारी दिइन् । “यो ऐतिहासिक कमलपोखरी हो,’ उनले भनिन् ‘यो पोखरीलाई पहिलाको भन्दा पनि व्यवस्थित बनाउँदै यो अवस्थासम्म ल्याउन यहाँका बासिन्दा र सबैको ठूलो सहयोग प्राप्त भएको छ । मेरो घर कमलपोखरीबाट नजिकै छ । बिहान–बेलुका स्वच्छ हावा लिदैँ हरियालीको आनन्द लिनका लागि यो उपयुक्त ठाउँ हुने भयो ।”

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले करिब २३ रोपनी क्षेत्रफलमा पुनःनिर्माण भइरहेको कमलपोखरी सहरी सौदर्य अभिवृद्धिका लागि उपयुक्त हुने बताए । “यो पोखरी वास्तुकलालाई आधार मानेर पुर्ननिर्माण भैरहेको छ”, उनले भने, “काठमाडौँको संकृति र देशकै प्रतिनिधिमुलुक पर्वको रुपमा मानिदैँ आएको छठ पर्वका लागि समेत उपयुक्त हुने गरी यो पोखरी पुर्ननिर्माण गरेका हौँ ।” उनले छठ वाहेक पनि हरियालीको मनोरञ्जन दिदैँ घुमिफिर गर्न र आकर्षक सहरी सौदर्यका रुपमा यो पोखरी उपयुक्त हुनेमा आशावादी रहेको बताए ।

काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेते कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए ।

करिब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको उक्त पोखरी वास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको छ। उनले परम्परागत नेवारी शैलीलाई आत्मसाथ गर्दै पोखरी पुर्ननिर्माण गरेको पनि जानकारी दिए । “पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ”, बस्नेतले भने, “पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ । त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहने छन् ।” उनले पोखरी पुर्ननिर्माण गर्दा पानीको पर्याप्तता र गुणस्तरलाई ध्यान दिएको जानकारी दिए ।

बालाजुबाट स्रोत नखुलेको ६९ लाख बढी नगरसहित एक जना पक्राउ

मधेशमा असाेजमा स्थानीय चुनाव गर्न लाेसपाकाे माग